http://mtu.or.kr
    पुँजीवादविरूद्ध छापामार युद्ध छेडेका चे अहिले उपभोक्तावादको सिकार भएका छन् ।

   बोलिभियाको जङ्गलमा उभिएको एउटा रूख

     जसको हाँगामाथि बसेर

      चे ग्वेभारा डायरी ।

   कवि भूपीले कल्पना गरेभन्दा नितान्त फरक ढङ्गले अर्जेन्टिनी क्रान्तिकारी चे ग्वेभारा नेपाली जनमानसमा छाएका छन् । सन् १९५६ ताका फिडेल क्यास्ट्रोका साथ ग्य्रान्मा नामको डुङ्गा चढेर फुल्गेन्सियो बाटिस्टाको फासिस्ट क्युबाली सरकारविरुद्ध क्रान्ति छेडेका यी चिकित्सकले मृत्युको ३७ वर्षपछि बेग्लै 'क्रान्ति' ल्याएका छन्  । एकटकले हेरिरहेका एक जोडी आँखा, पपस्टारको जस्तो लामो कपालमाथि रातो ताराअङ्कित टोपी र पातला दाह्री । चे ग्वेभाराको यो छवि टिसर्टदेखि ट्याटुसम्म, कि-चेन, रुमालदेखि ब्रासम्म फैलिएको छ ।

  चेको तस्बिरले तपाईंलाई कतै पोस्टर, टिसर्ट त कतै कफीका मगदेखि कि-चेनसम्मबाट घुरिरहेको हुनसक्छ । मृत्युको तीन दशकपछि चे झनै सर्वव्यापी भएका छन् । चे ग्वेभारा आधुनिक/उत्तरआधुनिक फेसनको पर्याय बनेका छन् । र, त्यसलाई भरपूर 'उपयोग' गरेको छ उनले जीवनभर विरुद्धमा लडेको पुँजीवादले । सन् १९६० मा एक क्युबाली तस्बिरकर्मीले खिचेको चेको सो तस्बिरलाई उनको मृत्युको सात वर्षपछि पोस्टरमार्फत इटालीका एक प्रकाशकले बजारमा ल्याएका थिए । सन् '६८ मा पेरिसमा भएको विद्यार्थी आन्दोलनयता चेको सो तस्बिर विद्राेहको प्रतीक बन्दै आएको छ ।

  पेरिस आन्दोलनका छिटाहरू अहिले राजधानीका सडक तताइरहेका विद्रोही विद्यार्थीसम्म आइपुगेका छन् । रत्नराज्यलक्ष्मी क्याम्पसका स्ववियु सभापति बालगोपाल उपाध्याय, २६, जुलुसहरूमा कुलिर्ंदा चेको मुहारअङ्कित टिसर्ट लगाउन बिर्संदैनन् । "चे पनि कम्युनिस्ट, म पनि कम्युनिस्ट," बालगोपाल समानता औँल्याउँछन्, "त्यसैले यो टिसर्ट लगाएर जुलुसमा जाँदा क्रान्तिकारी 'स्पिरिट' आउँछ ।"

२०५५ सालतिर अखिलका तत्कालीन नेता रूपनारायण श्रेष्ठले चेको टिसर्ट लगाएको देख्दा बालगोपाल मनमनै डाहा गर्थे, "यस्तै टिसर्ट लगाएर जुलुसको नेतृत्व गर्न पाए !" ०५४ सालतिरै उनले चेको नाम सुनेका थिए । तर, ०५६ सालमा रञ्जना हलछेउको एक पसलमा पुगेर चार सय रुपियाँमा सो टिसर्ट किनेपछि मात्र उनको त्यो इच्छा पूरा भयो । चेको टिसर्ट लगाउँदा दुईथरी प्रतिक्रिया आउने उनको अनुभव छ । "टिसर्ट र मान्छे सुहायो भन्ने पनि छन्," दाह्रीवाल बालगोपाल थप्छन्, "कोही रोल मोडल हो भनेर सोध्ने पनि छन् ।"

   उनले चेसम्बन्धी पुस्तक खोजी-खोजी पढेका छन्  । "माक्र्सले लेखे मात्र, लेनिनले रुसमै सीमित गरे समाजवाद  । तर, चेले नै सच्चा अन्तर्राष्ट्रिय सर्वहारावादको लडाइँ लडे," बालगोपाल भन्छन् । 'माघ १९' पछि टिसर्ट लगाएर धादिङ जाँदा उनलाई सुरक्षाकर्मीले आधा घण्टासम्म केरकार गरे । चेले लगाएको कालो टोपीमा अङ्कित रातो तारालाई सुरक्षाकर्मीले नेपालका माओवादीसँग जोडेर हेर्ने गरेको टिसर्ट बिक्रेता एट्सका प्रबन्धक अजय शाही बताउँछन् । त्यसैले यस्ता टिसर्टको बिक्री काठमाडौँमा मात्र सीमित छ, राजधानीबाहिर लगाउनेलाई सुरक्षाकर्मीले दुःख दिन्छन्  । अजय भन्छन्, "टिसर्ट नलगाउँदा देश सुरक्षित हुन्छ भने होस् न त !"

  धेरैजसो थाइल्यान्डबाट आउने यस्ता टिसर्ट, रुमाल, कि-चेनका मुख्य क्रेता 'टिनएजर' नै हुन् । एट्सले समेत यस्ता टिसर्ट छपाएर बेच्ने गरेको छ । तर, छपाइको सामग्री आयात गर्नुपर्ने भएकाले महँगो हुने अजय बताउँछन् । टिसर्टको तीन सय ५० देखि तीन सय ७० सम्म पर्छ भने कि-चेनको ७० र रुमालको ४०-५० रुपियाँ । 'होलसेलर' ले एकचोटिमा एक सयवटासम्म टिसर्ट 'अर्डर' गर्ने गरेको उनी बताउँछन्  । "अहिलेचाहिँ अलि मन्दी छ । अचेल अङ्ग्रेजीका भनाइ लेखिएका टिसर्ट रुचाइन थालेका छन्," अजयको अनुभव छ ।
  चेप्रतिको आकर्षण केवल कपडामा मात्र सीमित छैन । चे ग्वेभाराः विश्वक्रान्तिका नायक पुस्तकका लेखक, पत्रकार राजेन्द्र महर्जनलाई नै सोध्नूस् । ६० रुपियाँ मूल्यको सो पुस्तकको तेस्रो संस्करण गत जेठमा निस्कियो । महर्जनकै अनुसार पनि चार वर्षअघि छापिएयता पुस्तक १० हजार प्रति बिक्री भइसकेको छ । चेलाई धेरै नेपालीमाझ चिनाउने यी लेखकको चाहिँ 'चे-क्रेज' बारे फरक बुझाइ छ । "उनको सङ्घर्षले पारिजातदेखि निर्मल लामासम्मका वाम झुकावका नेता र लेखकलाई आकषिर्त गरेको थियो," महर्जन भन्छन्, "समाजमा सम्मानित डाक्टरीजस्तो पेसा छाडेर निःस्वार्थ ढङ्गले राजनीति गरेकाले पनि यस्तो भएको हुनसक्छ ।" उनको छविलाई पुँजीवादका पक्षपोषकले समेत प्रयोग गरेकोलाई चाहिँ रोक्न नसकिने महर्जनको ठहर छ । भन्छन्, "बजारले जहिले पनि उपयोग गर्न खोज्छ । त्यसले अझै पनि उनको लोकपि्रयता रहेको देखाउँछ  ।"
  तर, चे ग्वेभाराको परिवार चेको बजारीकरणप्रति रुष्ट छ । द टाइम्स अफ इन्डिया का अनुसार, ग्वेभारा परिवारले चेको छवि भजाउने कम्पनीविरुद्ध मुद्दा चलाउने भएको छ । चेकी क्युबाली विधवा एलेइडा मार्चले भनेकी छन्, "हामी यसका विरुद्ध अभियान छेड्नेछौँ ।" चेकी छोरी एडेइला ग्वेभारालाई उद्धृत गर्दै सोही दैनिकमा उल्लेख गरिएको छ, "प्रत्येक देशको आ-आफ्नै कानुन हुने भए तापनि जथाभावी प्रयोगमा बन्देज लगाउने कोसिस गरिनेछ  ।"
   चेकी श्रीमती र छोरी बस्ने क्युबाको राजधानी हवानानजिकको मध्यअमेरिकी राष्ट्र एल साल्भाडोरबाट एक जना साथीले काठमाडौँ, महाराजगन्जका सुदीप जाना, २५, लाई चेको चित्रअङ्कित सेतो टिसर्ट ल्याइदिए  । सेन्ट जेभियर्सबाट स्कुले शिक्षा पूरा गरेर भारतको टाटा इन्स्िटच्युट अफ सोसल साइन्सबाट स्नातक सुदीपको कार्यक्ष्ाेत्र नै सामाजिक आन्दोलन हो, जसलाई चेको क्रान्तिकारी छविले ऊर्जा प्रदान गरेको छ । एक वर्षअघि फिडेल क्यास्ट्रोसम्बन्धी किताब पढ्ने क्रममा चेबारे थाहा पाएका उनले सो टिसर्ट लगाउन थालेको दुई महिना मात्र भयो । "टिसर्ट लगाएर नागरिक समाजको आन्दोलनमा जाँदा 'मोटिभेसन' हुन्छ," गत भदौ २६ गते न्युरोडको सात दलको विरोध कार्यक्रममा मानवअधिकारकर्मीका रूपमा पर्यवेक्षण गर्न जाने बेलामा सुदीपले भने । "म चेको फ्यानचाहिँ होइन," हाल नेपाल साउथ एसिया सेन्टर -नेसाक) मा कार्यक्रम संयोजक रहेका उनले थपे, "यो तस्बिर प्रतीकात्मक हो ।"
   तर, सबैले अर्थ बुझेरै मात्र लगाउँछन् भन्ने छैन । नयाँ सडकको एक चियापसलमा कार्यरत मोरङको पथरीका शम्भु तामाङ, १३, लाई आफ्नो छातीमा टाँगिएका क्रान्तिकारीबारे केही ज्ञान छैन । "तीन वर्षदेखि लगाइरहेको छु । राम्रो लागेर लगाएको," शम्भु भन्छन्  ।
  नेकपा माओवादीका कार्यकर्तादेखि नेतासम्म चेको जीवनीबाट प्रभावित भएको मूल्याङ्कन मासिकका कार्यकारी सम्पादक महर्जन बताउँछन्  । नभन्दै ०६० चैतमा भारतको सिलीगुढीमा पक्राउ परेका माओवादीका वरिष्ठ नेता मोहन वैद्यको वासस्थानबाट जफत महर्जन लिखित चेको जीवनीलाई भारतीय प्रहरीले आतङ्ककारी दस्तावेजको रूपमा पेस गरेको उनी बताउँछन् । "माओवादी युवाहरूले चेसम्बन्धी किताब पढेको हुनुपर्छ," प|mेममा सजाइएको चेको तस्बिरमुनि बसेका महर्जन भन्छन् । तर, व्यक्तिपूजाको संस्कार चेको सन्दर्भमा पनि लागू भएकोमा भने उनी चिन्तित छन् । भन्छन्, "उनको जुझारूपनबाट सिक्नु राम्राे कुरा हो तर उनलाई यहाँ स्थापित गरिरहनु जरुरी छैन ।" चेको लोकपि्रयता बढ्नुको अर्को कारण संस्थापनविरोधीदेखि लिएर प्रतिपुँजीवादीसम्मले नाराजुलुसमा उनको छवि प्रयोग गर्नु रहेको उनको तर्क छ ।
  चेद्वारा प्रभावित विद्रोह झेलेको पेरु र नेपालबीचको भौगोलिक बनावट उस्तै भएकाले नेपालमा पनि 'छापामार युद्ध' हुने अनुमान बेलायती प्राज्ञ एन्ड्रयु निक्सनले बहुदल आउनुअगावै गरेका थिए  । त्यसो त कुनै बेला पेरुभियाली माओवादी नेता गोञ्जालोको रिहाइको मागमा नेपालका सडक नगुन्जिएका होइनन् । समय क्रममा गोञ्जालो विस्मृतिमा बिलाए पनि चेलाई नेपालीले बिर्सन सकेनन् । त्यो कुरा राजधानीका सडक-गल्लीमा चेअङ्कित टिसर्टमा सजिएर हिँड्ने युवा जमातलाई हेर्दै प्रस्ट हुन्छ । र, सायद भूपी शेरचनले पनि यी दृश्य देखेका भए चेले नेपालमै पुनर्जीवन पाएको कविता लेख्थे कि !
  टाइम पत्रिकाले सन् १९६० अगस्ट ८ को अङ्कमा विश्वका एक सय महत्त्वपूर्ण व्यक्तित्वमा समेटेका अर्नेस्टो चे ग्वेभारा अर्जेन्टिनाको एक इन्जिनियरको मध्यमवर्गीय परिवारमा सन् १९२८ जून १४ मा जन्मिएका थिए । दुई वर्षको उमेरमै दमको रोगी भएर बाल्यकालको धेरै समय ओछ्यानमै थला परेका चेको सङ्गत साहित्य र राजनीतिक कृतिसँग भयो, जसले उनमा निखार ल्यायो । सन् १९४१ मा १३ वर्षको उमेरमै डीन फ्युनस स्टेट कलेजमा अध्ययन गरेका चे चार वर्षपछि चिकित्साशास्त्र पढ्न ब्युनस आयर्सस्थित विश्वविद्यालयमा भर्ना भए । दम रोगका बाबजुद उनले तीन वर्षमै पढाइ पूरा गरे । पढ्न र घुम्न रुचाउने लिखुरे चेले किशोरावस्थामै माक्र्सदेखि प|mायडसम्म छिचोलिसकेका थिए ।

  डाक्टरी पेसा छाडी फिडेल क्यास्ट्रोसँग मिलेर उनले छेडेको छापामार युद्ध सफल भएपछि चे चर्चाको शिखरमा पुगे । छापामार युद्धमै रहँदा अमेरिकी खुफिया संस्था सीआईए र बोलिभिया सरकारको मिलेमतोमा उनको हत्या सन् १९६७ अक्टोबर ९ मा भ्यालेग्रान्डमा भएको थियो । त्यतिबेला उनको शवसमेत लुकाइएको थियो, जुन २०५४ असार १४ गते बोलिभियामा फेला पर्‍यो ।

  चिकित्साशास्त्रको अध्ययन गरेका उनी गरिब-दुःखीको बेग्लैखाले घाउमा मलहमपट्टी लगाउन पुगे । ल्याटिन अमेरिकामा वषौर्ंदेखि थिचोमिचोमा परेका जनताको मुक्ति उनको जीवनको नारा थियो ।