राजपरिवारको नाममा रहेको ३४ हजार रोपनी जग्गा
Filed under: अन्‍य
   प्राकृतिक साधन तथा स्रोत समितिले राजपरिवारको नाममा विभिन्न स्थानमा रहेको जग्गाको विवरण आज सार्वजनिक गरेको छ ।


समितिमा आज भूमि सुधार तथा व्यवस्था मन्त्री प्रभू नारायण चौधरीले राजपरिवारको नाममा मुलुकका विभिन्न स्थानमा रहेको ३४ हजार रोपनी जग्गाको विवरण प्रस्तुत गर्नुभएको हो । त्यस बखत समितिका सदस्यहरुले राजपरिवारको नाममा रहेको सबै जग्गा र विवरण समेटिएन भन्दै आपत्ति प्रकट गरेका थिए । समितिले आज सार्वजनिक गरेको राजपरिवारको जग्गाको विवरणमा धादिङ, गोरखा, नारायणहिटी, ललितपुर, भक्तपुर, सुर्खेत, मकवानपुर र काठमाडौमा रहेको राजपरिवारको सदस्यहरुको नाममा दर्ता भएको जग्गा रहेको छ ।

यसैबीच समितिले राजपरिवारका अन्य सदस्यहरुको नाममा रहेको जग्गा जमिनको विवरण संयुक्त लगानीमा रहेको भवन विवरण साथै अन्य चल अचल सम्पत्ति र स्वर्गबासी राजा वीरेन्द्रको नाममा रहेको चलअचल सम्पत्तिको विवरण सहित यहि २८ गतेको बैठकमा प्रस्तुत गर्न भूमि सुधार तथा व्यवस्था मन्त्री र सचिवलाई निर्देशन गरेको छ ।