हामी सबैको हक अधिकारको लागि संयुक्त संघर्षको अव्हान  

नरेन्‍द्र गुरूङ

गत बर्ष यसु इमिग्रेशनमा आगलागी भएर १० जना प्रवाशीहरुको घटनालाई विस्रन नपाउंदै पुनः यस्तै घटना सृजना भएको छ । ७ जनवरी २००८ का दिन ग्यङगीदो इछन एरियामा भएको एउटा घटनामा एउटा फ्रीज कम्पनीमा आगलागी हुंदा ४० जना श्रमिकरहरुको अकालमा मृत्यु भएको छ । जस मध्ये १३ जना प्रवाशी श्रमिकहरु परेका छन् । यसमा १२ जना कोरियन चाईनिज र १ जना उज्वेकिस्तानी गरी १३ जना प्रवाशीहरुले ज्यान गुमाएका छन । यस्तो खालको कम्पनीमा आधुनिक अटोमेटिक पानि आउने दमकलको जडान नभएको र विषालु ग्यांसले पुरै ढाकेको भए पनि प्रशस्त सुरक्षाको व्यवस्था नहुनुका कारण उकुस मुकुसमा ज्यान गुमाउनु पर्यो । अर्को झन् दुःख लाग्दो घटना २६ डिसेम्बर २००७ तारिखका दिन थाईल्याण्डबाट आएका अवैधानिक श्रमिकको एउटा एपेण्डिसाईटिस जस्तो आन्द्रा सम्बन्धी रोगबाट मृत्यु भएको छ जसको अप्रेशन गरेमा बचाउन सकिन्थ्यो । तर उक्त कामदारसंग पैसा नभएको र अस्पतालले जिम्मेवार निलंदा मृत्युवरण गर्नु पर्यो । हाम्रो देशमा त यस्तो सानो अप्रेशन गर्न त्यति धेरै पैसा लाग्दैन भने बिचार राखेर तुरुन्त अप्रेशन गरेर ज्यान बचाउन सकिन्थ्यो । तर कोरिया जस्तो धनी देशमा आएर पनि पैसा नभएर अप्रेशन गर्न नपाएर मृत्यु भएको कुरा सुन्दा साह्रै दुःख लाग्छ ।

गएको ८ महिना देखि १२ महिनाको ३१ तारिखसम्म लगातार धरपकड गरेर नअघाएको इमिग्रेशनले अझै पनि फाटफुट रुपमा धरपकड गरिरहेको खवर प्राप्त हुन आएको छ । हाम्रो एम.टी.यु.ले प्रवाशी श्रमिकहरुलाई परेको समस्या र अन्यायको वारेमा कोरियन सरकार र कोरियन संघ संस्थाहरुलाई अवगत गराउंदै आईरहेको छ । मानव अधिकारको ग्यारेन्टी भएको देश भनेर ठोकुवा गर्ने कोरियन सरकारले आफ्नै देशमा मानव अधिकार हनन भएर यस्तो घटना पटक-पटक दोहोिरंदा पनि वाल्ल परेर हेरिरहेको छ । कोरियन मानव अधिकार भनेको केवल मागी खाने भांडो र देखाउने दांत मात्र सावित हुन गएको छ । मानव अधिकार र प्रवाशी श्रमिक हक अधिकारको माग राख्दै आएको एमटीयु लाई पटक-पटक दवाव दिंदै आईरहेको छ । भने एकातिर आफ्नै लागि मात्र सोच्ने बषौंबर्ष काम नगरि दलाली गरेर खान पल्केका सरकारका दलालहरु हाम्रो यस आन्दोलन विरुद्ध अफवाह हल्ला फैलाउदै भ्रमित बनाईरहेको यस अवस्थामा हामीले यस्ता कुतत्वहरुलाई वेलैमा पहिचान गर्न सकेनौं भने यसले विकराल स्थिती निमत्याउन सक्ने प्रवल संम्भावना टड्कारो रुपमा हाम्रो सामु छ । के प्रवाशी श्रमिक यूनियनले अध्यागमनले बनाउन लागेको राक्षशी नयां कानुन खारेज गरी मानव अधिकार काम गर्ने अधिकार खुल्ला गर । अमानवीय धरपकड बन्द गरी प्रवाशीहरुलाई बैधानिक गर तलव नपाएकाहरुलाई तलब दे अपाङ्गहरुलाई क्षतिपूर्ति दे भन्नु के हामिले राजनिति गरेको हौ र? अहिले हामीले पाएका सुविधाहरु प्राप्त गर्न संघर्ष गरेका संघर्षहरु के गल्ती थियो त? के हामीलाई पनि काम गरेर कमाउन मन लागेको छैन र? तर पनि हजारौ हजार दुःख पाएका प्रवाशी श्रमिकहरुका खातिर सम्पति भन्दा पनि सेवा गर्न दवावको बावजुद पनि लागि परेका छौं ।

यूनियनको आवश्यकता किन ?
कोरियामा प्रवाशि श्रमिकहरुको आगमन भएको। करिव २० वर्ष पुगिसकेको छ । हाल ४ लाख भन्दा माथिको संख्यामा प्रवाशी श्रकिमहरु रहेका छन तर पनि हामी प्रवाशी श्रमिकहरु श्रमिक सरहको पूर्ण हक अधिकार प्राप्त गर्न सकेका छैनौं । यस्तो हुंदाहुदै पनि हामीहरु २० बर्ष सम्म दविएर बसेको भए पनि संघर्षको माध्यमबाट हाम्रो अधिकारहरु एक एक गरेर लिंदै आएका छौं । अहिले यति वेला सम्मका थेजिकुम २ बर्ष काम गरेपछि पाईने रकम नपाएका तलवहरु इन्स्योरेन्सहरु तथा श्रमिकहरुको पाउने अधिकारको लागि कानुनी रुपबाट लडेर लिन सक्ने व्यवस्थाको निर्माण गरेका छौं । किनभने यसको लागि हामीले धेरै संघर्षहरु गरेका थियौं । हाम्रो संघर्षलाई अझै विस्तार र निरन्तरता दिंदै गयों भने अझै बढि अधिकारहरु प्राप्त गर्न सक्न छौं र यदि संघर्ष गर्न छाड्यौं भने प्राप्त भएका अधिकारहरु पनि कटौति हुंदै जानेछन् ।

ईपिएस प्रणालीबाट आएका प्रवाशी श्रमिकहरु प्रत्यक्ष श्रमिक अधिकारबाट बञ्‍चित छन् । कागजी रुपबाट बैधानिकता प्राप्त गरेपनि उनीहरुलाई अबैधानिक मजदुरहरु सरहको व्यवहार गरिरहेको र काम लगाई रहेको स्थिति छ । त्यसकारण उनीहरुको वैधानिकता केवल कागजमा मात्र सिमित छ । यस्तो खाले साझा समस्याहरुको समाधान गर्नको लागि हामीहरु एउटै आवाज लिएर अगाडि बढनुपर्ने होइन र व्यक्तिगत समस्याको समाधान गर्नै माध्यम र बाटोहरु पकडेर गयौं भने यसले केवल व्यक्तिगत समस्याको समाघान मात्र गर्न सक्छ । साझा समस्याहरु र सम्पूर्ण श्रमिक अधिकारको लागि एउटै आवाज लिएर संघर्षमा अगाडि बढ्न जरुरी छ । वैधानिक र अवैधानिक जे भएपनि हामीहरुको समस्याहरु भनेको एउटै खालको र मिल्दो जुल्दो समस्याहरु हो । यसर्थ हामीहरु आफ्ना साझा समस्याहरु समाधानको लागि एकजुट भएर लाग्यौं भने एक-एक गरेर धेरै अधिकारहरु लिन सक्छौं ।

यस्तो विविध समस्याहरु समाधानको लागि कोरियन मजदुर संगठनहरु संगसंगै संयुक्त रुपमा हाम्रा मागहरु राख्दै संघर्ष गर्न सक्छौं । हाम्रा मागहरुलाई संयुक्त रुपमा अगाडि बढाउंदै लग्यौं भने अवश्य पनि हाम्रो अधिकार लिन सक्छौं । त्यसकारण हामीहरु संगसंगै अगाडी बढौं र अधिकारहरु प्राप्त गरौं ।

प्रवाशी श्रमिक प्रति मानव अधिकार विहीन इमिग्रेसन कानुन
कानुन मन्त्रालयबाट इमिगे्रसन कानुनलाई प्रवाशी श्रमिक अधिकारलाई दबाउन धरपकडलाई कडा बनाउने बैधानिक कानुन बनाउने भएको छ । कानुन मन्त्रालयले ८ नोभेम्वर २००७ मा इमिगे्रसन कानुन नयां प्रकारले परिवर्तन गर्ने भनी पारित गरिएको छ । उक्त कानुन अन्तर्गत इमिगे्रसनका कर्मचारीले अवैधानिक प्रवाशी श्रमिकलाई जुनै पनि क्षेत्र कार्य स्थल वास स्थान र जुनसुकै समयमा पनि आफ्नो परिचय पत्र बिना धरपकड गर्न सक्ने कानुन बनाई रहेको छ । इमिगे्रसन कानुनमा आज सम्म धरपकड जुन प्रकारले गरे पनि त्यसको अवस्था हेरेर विरोध तथा मुद्दा गर्न पाउने अधिकार थियो भने अवको नया कानुनमा जुन सुकै प्रकारले धरपकड गरे पनि स्वतः बैधानिक हुन सक्ने कानुन वनाई रहेको छ । यस कानुनलाई नियालेर हेर्दा प्रवाशी श्रमिक प्रति ठुलो भेदभाव पुर्ण कानुन मानव अधिकार सम्बन्धी पुर्ण हनन् र इमिग्रेसन विभागलाई वढि अधिकार प्रदान गरेको देखिन्छ ।
यस कानुनले इमिग्रेसन विभागलाई सवैतिर वाट बलियो वनाएको छ । इमिग्रेसन विभागका कर्मचारीहरुले प्रवाशी श्रमिक प्रति चाहे जति गलत व्यवहार गर्न सक्ने छन् । यस कानुनले प्रवाशी श्रमिक कार्वाहीलाई बैधानिकता प्रदान गर्ने छ । त्यसैले यस कानुनलाई मानव अधिकार हनन गर्ने कानुनको रुपमा हेर्न सकिन्छ ।

हात र आंखाको स्केनिङः
यस कानुनले अवैधानिक तवरमा वसेका जोसुकैलाई पनि स्वदेश फर्कने वेला हातको तथा आंखाको नानीको स्केनिङ गरि पठाउने नियमले अझ आतंकित तुल्याएको छ । हालसम्म जो पनि पासपोर्ट बदलेर आउन सक्ने थियो भने अवका दिन यो नियम पास भएको खण्डमा कुनै देशमा जानु पर्दा अपराधी देखिने हुन्दा बेलैमा हामीले अवाजमा अवाज मिलाएनौ भने भोलीका दिन यो देशको विकाशमा टेवा पुर्याए वापतको इनाम स्वरुप अपराधीको उपनाम पाउने छौ ।

शरणार्थीको अधिकारमा बन्देजः
कानुन मत्रालयले शरणार्थीहरुलाई कानुनी रुपमा स्विकार्ने कार्य बन्द गर्ने छ । त्यसैले शरणार्थीहरुको मानव अधिकार हनन हुनेछ । यस कानुनमा शरणार्थीले पेश गरेको निवेदनलाई अश्विकार गर्न सक्ने छ । दर्ता भएको निवेदनहरु तथा पुर्ण शरणार्थीको रुपमा स्विकारेको दर्ताहरु समेत कोरियाको राष्ट्रिय सुरक्षा र सार्वजनिक आदेशको अधारमा रद्ध गर्ने कानुन बनाउन सक्ने छ । शरणार्थीहरुलाई सवै प्रकारको कानुनी गतिविधी वाट वन्चित गराउन सक्ने छ ।

दासत्वको प्रथा यथावतः
विदेशी संयुक्त लगानीमा प्रशिक्षण प्रणालीलाई राष्ट्रपतिको आदेशवाट वनाएको कानुनलाई कानुनी रुप प्रदान गर्ने भएको छ । यस कानुन अनुसार कोरियन पुजीपतीहरुले विदेशमा विदेशीहरुसंग सयुक्त लगानी मार्फत त्यो देशमा संचालित कम्पनीको नाम वाट श्रमिकहरुलाई कोरियामा प्रशिक्षणको रुपमा ल्याई काम गराई रहेको छ । ती श्रमिकहरुलाई कोरियामा आए पनि उनीहरुको देशमा पाउने तलब मात्र पाउने गर्दछ । कम्पनीमा काम गर्दा कुनै प्रकारको घटनामा परे पनि जीवन विमा वाट बन्चित हुने छन् । दक्षिण ग्‍यङसाङदो क्षॆत्रको एक विशाल मोटर कम्पनीमा १५० जना उज्वेकिस्‍तानीहरुलाई ल्याई यस प्रणाली अन्तर्गत कार्य गराईरहेको छ । तिनीहरुको मासीक तलव तीन लाख वोन भन्दा वढी नभएको देखिएको छ । यो रकम श्रमिकलाई दिने तलवको अधारमा धेरै कम छ । यस प्रकारको प्रणाली कानुनी रुपमा कोरियन सरकारले वनाई रहेको छ । यस्तै प्रकारले कोरियामा प्रवासी श्रमिक अधिकारलाई व्यवस्थित बनाउने नभई अझ नराम्रो तथा मानव अधिकार विहिन कानुन प्रवाशी श्रमिक प्रति लाधीरहेको देखिन्छ त्यसैले प्रवाशी श्रमिक हक अधिकारको लागि हरेक क्षेत्र वर्ग तथा स्तर वाट सक्दो शक्ति लगाई यस्तो प्रकारको कोरियन सरकारको निति र कार्यलाई घोर विरोध गर्न हामी सवै प्रवाशी श्रमिक तथा सहयोगी संघ संगठन र न्याय प्रेमी कोरियन जनताहरु संग एक भई अगाडी बढने दिन आएको छ ।

हाम्रा मागहरुः-
प्रवाशी श्रमिक युनियनलाई मान्यता प्रदान गर प्रवाशी श्रमिक संघर्ष दबाब बन्द गर ।
अध्यागमनले बनाउन लागेको राक्षशी नया कानुन खारेज गरी मानव अधिकार काम गर्ने अधिकार खुल्ला गर ।
अमानवीय धरपकड बन्द गरी प्रवाशीहरुलाई बैधानिक गर ।

आगामी कार्यक्रमहरु -
अध्यागमनले बनाउन लागेको राक्षशी नया कानुन खारेज गरी मानव अधीकार काम गर्ने अधिकार खुल्ला गर  भन्ने नारा सहितको प्रवाशी श्रमिक जुलुस

२० जनवरी २००८ आइतवार ।
स्थानः- सउल बुसिङ्गाक, छुङ्गाक स्टेशन लाइन नः-१ गेट नः-४,५ सामसुङ विल्डिङ परिपट्टि

यसु आगलागी काण्डको वार्षिक स्मृतिमा प्रवाशी श्रमिक मानव अधिकार श्रमिक अधिकारको लागि राष्ट्रव्यापी प्रवाशी श्रमिक जुलुस
२४ फेब्रुवरी २००८ आइतावार
स्थानः-सउल केन्द्रित
प्रत्येक बिहिवार सांझ साढे ६ वजे खागामुनमा मैन बत्ती जुलुस
प्रत्येक शुक्रवार दिनको ११ वजे राष्ट्रपतिको सचिवालय अगाडी पिकेटिङ जुलुस