हिजो २००८ मे ४ का दिन दक्षिण कोरियाको राजधानी सउल स्थित बुद्ध गुम्बाको आसपासमा विभिन्न राष्ट्रका बुद्ध धर्मावलम्वीहरुले शान्ति र्‍याली निकाल्नुका साथै आ-आफ्नो राष्ट्रका भेष भुषा, नृत्यकला तथा परेड खेल्दै बुद्ध जयन्ती मनाए ।


दशौं हजारको संख्यामा उपस्थित भएका भक्तालुहरुले सो अवसरमा विभिन्न राष्ट्रले देखाएका अन्तराष्ट्रिय प्रदर्शनहरुलाई रुचिका साथ अवलोकन गर्नुका साथै मनोरञ्‍जन लिएका थिए । उक्त अवसरमा शान्तिका दुत भगवान गौतम बुद्ध जन्मिएको देश नेपालको तर्फवाट पनि दुईवटा समुह नेपाल बौद्ध परिवार र नेवाः पुचले र्‍यालीमा भाग लिएका थिए । नेवाः पुचद्वारा स्वयम्भु स्तुपा वनाई राष्ट्रिय झण्डा सहित र्‍यालीमा भाग लिएका थिए भने नेपाल बौद्ध परिवारले विभिन्न संघसंस्था तथा राजदुतावासको सहभागितामा राष्ट्रिय पोशाक लगाई व्यानर तथा राष्ट्रिय झण्डा सहित भाग लिएका थिए सो अवसरमा दिउंसो जोग्‍येसा गुम्‍बा अगाडिको प्राङगणमा नेपाल कोरिया सांस्कृतिक मञ्‍चका कलाकारहरुले सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरेका थिए । नेपाल र नेपालीको पहिचान गराउनको लागि नेपाल कोरिया सांस्कृतिक मञ्‍चले दक्षिण कोरियामा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ ।