नेपाली तेक्वान्दो खेलाडी दिपक विष्ट कोरियामा सम्मानित  
नेपाली तेक्वान्दो खेलका धरोहर एवम् सम्पुर्ण नेपालको गौरव दिपक विष्ट दक्षिण कोरियामा सम्मानित हुनु भएको छ ।

अप्रील २० तारिख आईतबारका दिन दक्षिण कोरिया स्थित नेपाल खेलकुद तथा सांस्कृतिक समितिद्धारा आयोजना गरिएको उक्त दिपक विष्ट सम्मान कार्यक्रममा प्रमुख अतिथि दक्षिण कोरियाका लागि नेपाली राजदूत महामहिम श्री कमल प्रसाद कोईराला ज्यु लगायत नेपाल बौद्ध परिवारका अध्यक्ष श्री नरेन्द्र गुरुङ्ग नेपाल पत्रकार महासंघ दक्षिण कोरिया साखाका उप सभापति श्री रघु त्रिपाठी नेपाली सम्पर्क समितिका सचिव श्री आनन्द गुरुङ्ग एम टी यु का अध्यक्ष श्री तोरण लिम्बु नेपाली प्रगतिशील मोर्चाका अध्यक्ष श्री सुमन राई नेपाल प्रवासी संघका पूर्व अध्यक्ष मानध्वज लामा लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।

नेपाल खेलकुद तथा सांस्कृतिक समितिका अध्यक्ष श्री भरत गुरुङ्गको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बोल्नु हुंदै महामहिम राजदूत श्री कमल प्रसाद कोईरालाले नेपाली तेक्वान्दो खेलाडी दिपक विष्टलाई यो कार्यक्रम मार्फत सम्मान गर्न पाउंदा आफु निक्कै खुशी हुनु भएको बताउनु भयो साथै आउंदो बेइजिङ ओलम्पिकमा सफलता प्राप्त गर्नको लागि शुभ कामना पनि ब्यक्त गर्नु भएको थियो ।

त्यसैगरि नेपाली तेक्वान्दोका कोच श्री क्वान् हुक जोङले बेइजिङ ओलम्पिक शुरु हुने दिनसम्म आफुले पुर्ण रुपमा दिपक विष्टलाई ट्रेनिङ दिलाई जसरी भएपनि दिपक विष्ट मार्फत एउटा मेडल नेपाललाई दिलाउन कोशिस गर्ने बताउनु भयो ।

दक्षिण कोरियाको राजधानी सिओलको उच्जिरो स्थित माईग्रान्ट ट्रेड युनियनको भवनमा भएको उक्त कार्यक्रममा करीब ६० जना नेपाली तथा कोरियनहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सम्मानित हुनु भएका दिपक बिष्टले यसरी विदेशमा आफुलाई सम्मान गरेकोमा सर्वप्रथम आयोजक नेपाल खेलकुद तथा सांस्कृतिक समिति र त्यसका सम्पुर्ण सदस्यहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्नुभयो साथै आफ्नो तर्फबाट नेपालको खेलकुद बिकासमा कमी हुन कुनै कसर बांकी नराख्ने कुरा ब्यक्त गर्नु भयो साथै आउंदो बेइजिङ ओलम्पिकमा नेपालको नाम विश्वभर चिनाउन मरिमेट्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

साथै आयोजक कमिटीका अध्यक्ष श्री भरत गुरुङले दिपक विष्टलाई दोसल्ला ओडाउनु भै सम्मान पत्रका साथ सम्मान स्वरुप नगद ८ लाख कोरियन वन् नेरु ५० हजार हस्तान्तरण गर्नुभयो । साथै वहांले दिपक विष्टलाई आफ्नो संस्थाको तर्फबाट सम्मान गर्न पाउंदा आफु निक्कै खुशी भएको र भविष्यमा पनि दिपक विष्टको लागि यस्तो कार्यक्रमहरु निरन्तर होस् र साथै दिपक विष्टले ओलम्पिकमा सफलता पाई नेपालको नाम उच्च राखोस् भनी कामना गर्नु भएको थियो ।

स्मरण रहोस् यो कार्यक्रममा अर्का तेक्वान्दो खेलाडी पुष्प थापा मगरलाई पनि सम्मान पत्र सहित एक लाख कोरियन वन् नेरु। ७ हजार हस्तान्तरण गर्नुभएको थियो भने कोरियन प्रशिक्षकलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरिएको थियो ।